For Community Education Since: 2048

Shape Shape

Events News Memory

Shape
Shape
Shape

वृहत् निःशुल्क स्वास्थ्य शिविर हुने

वृहत् निःशुल्क स्वास्थ्य शिविर हुने
इन्द्र चौधरी ।

विद्यार्थी, अभिभावक तथा शिक्षकलाई लक्षित गर्दै एकदिने वृहत् निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ को आयोजना, काठमाडौं मेडिकल कलेज सिनामङ्गलको प्राविधिक सहयोग र काठमाडौ सक्रिया युवा समूहको समन्वयमा भदौ २८ गते शुक्रबार सोही वडाको चखेल, ठुलचौरस्थित श्री कालीदेवी मा.वि. मा हुने भएको हो ।

‘सेवा नै आत्मसन्तुष्टि हो, तपाईंको सहयोगले अरुलाई ठुलो मदत हुन्छ’ भन्ने मूल नाराका साथ सञ्चालन हुने उक्त शिविरमा सबैलाई स्वास्थ्य परीक्षण गराउन सोही वडाका वडाध्यक्ष दूतराज तितुङले जानकारी दिए । घट्टेखोलास्थित श्री मञ्जुश्री जन आधारभूत विद्यालयका विद्यार्थी र शिक्षकहरुलाई जानकारी गराउँदै उनले भने, ‘हामीले निःशुल्क वृहत् स्वास्थ्य शिविर सञ्चालन गरिरहेका छौं । यसमा सम्पूर्ण विद्यार्थी भाइबहिनीहरु हुनुहोला । साथै, आफ्नो घरपरिवार, छरछिमेकमा भएका सबै बालकदेखि वृद्धसम्म सबैलाई सहभागी गराउन ल्याउनु होला ।’ उनले थपे, ‘यस अघि पनि स्वास्थ्य शिविर नभएको होइनन् तर यो विशेष छ ।’

त्यसैगरी, शिविरमा विभिन्न रोगको परीक्षणसँगै सामान्य शल्यक्रियासमेत हुने भएकाले यो मौका नछुटाउन सोही वडाका स्वास्थ्यकर्मी मिलन उप्रेतीले जानकारी गराए । ‘यस शिविरमा जनरल मेडिकल, स्त्री रोग, बाल रोग, हाडजोर्नी तथा नशा रोग, नाक, कान, घाँटी, दन्त रोग, आँखा रोग र सामान्य शल्यक्रिया पनि हुन्छ,’ उनले भने, ‘त्यो दिन एच.बी, सुगर, युरिया, यरिक एसिड, युरिन आर.ई., यूसीजी र अल्ट्रासाउन्ड पनि हुन्छ ।’ शिविरमा सहभागी हुनेका लागि विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म नाम दर्ता हुने र ५ बजेसम्म परीक्षण हुने भएको छ ।

त्यसैगरी मञ्जुश्रीका प्रधानाध्याक भरत वाइबाले पनि विद्यार्थीहरु र शिक्षक शिक्षिकाहरुलाई यो मौकाको फाइदा उठाउन आग्रह गरे । वृहत् स्वास्थ्य शिविरसम्बन्धी जानकारी पाएर विद्यार्थीहरु पनि निकै उत्साही देखिएका थिए ।

Share:

Comments

Leave a comment

Gallery

Moments to cherish & Get connected with us.

Shape
  • Google Play